Get Even More Visitors To Your Blog, Upgrade To A Business Listing >>

एउटा हराएको गन्तब्य (भाग:६)

कथा:
एउटा हराएको गन्तब्य

अगाडिका भाग पढेर मात्र यो पढ्नुहोला ।

भाग ६:

यत्तिकै त केहि नसोची बुटवल आएको म,त्यो फोन कलले झनै रनभुल्लमा परेँ । अब झनै के गर्ने ? सबै भन्दा सुरुमा एउटा रिक्सा चढेँ अनि एउटा होटेलमा लगिदिन भने । होटेल गएँ अनि चिन्ता झनै बढ्न थाल्यो । शंकाहरु पनि अत्यन्त धेरै उत्पन्न हुन थाले । अब म के गरुँ ? के त्यस कलमा भनिए जसरि नै चुप चाप रश्मिता बाट टाढा भउँ त ? उसैलाई पाउनको निम्ती बुटवल आएको थिएँ,अब यत्तिकै कसरी फर्किउँ ?
दिमागले केबल रश्मिताको लागी भए पनि यहाँ बाट टाढा जानु पर्छ भन्दै थियो भने दिलले यत्ती धेरै माया गरेकी मान्छेलाई यत्ती सजिलै छोड्छस् भनेर प्रतिप्रश्न गरिरहेको थियो ।
फेसबुक खोलेँ,”यु क्यान्नट रिप्लाई टु दिस कन्भर्सेसन्” भन्ने देखियो । 
मलाई उसले ब्लक गरिछे क्यारे! मन करेला खाए जस्तै भयो,तितो अनि नमिठो । 
आहा! उसको मन पनि कस्तो,उसको माया पनि कस्तो । चैतमा झरेका बाँसका पात जसरि उसको माया पनि झरेको थियो,फरर कुनै बेर नलगाइ । कम्सेकम ति बाँसका पातले झर्नु भन्दा आगाडी संकेत त दिन्थे अनि त्यसमाथी उनिहरुसँग त झर्नुको कारण पनि थियो । उनिहरु त शिशिर ऋतुको आगमनले झरेका थिए । तर उ किन झरि एक्कासी ? उसको माया किन झर्यो एक्कासी ? न त उसँग मलाई भन्ने कारण थियो न त उसले केहि संकेत नै दिएकी थिई । उसलाई ति बाँसका पातहरुसँग दाँज्नु पनि मुर्खता लाग्यो ।

उ सुरुमा आफ्नोपनको आभास लाग्छ भन्दै आइ,त्यसपछी तिम्रो नै बिस्वास लाग्छ भन्दै नजिकिई,फेरी तिमी सबैभन्दा खास लाग्छ भन्दै सम्बन्ध बढाइ,दुनियामा तिम्रो मात्र आश लाग्छ भन्दै फुर्काइ र अचानक के कुरामा चित्त बझेन कुन्नि तिमी सन्सारकै बकवास लाग्छ भन्दै तर्किएर गइ ।

ब्लक भए पछी  फेसबुकबाट उसँग सम्पर्कमा आउने बाटो पनि बन्द भएको थियो ।
मैले उसलाई भेट्ने अनेक उपाय हरु सोच्न थालेँ । यत्तिकैमा मैले एउटा कुरा सम्झिएँ । उसलाई एक पटक मैले सोधेको थिएँ,”तिम्रो घर बुटवलमा कता हो ?”
उसले उत्तर दिएकी थिइ” सिद्धार्थनगर भन्ने टोल छ,त्यहिँ हो ।”

फट्टाफट होटलबाट निस्किएँ,अब यत्रो ठुलो सहरमा “सिद्धार्थनगर” भनेर कता खोज्न जाउँ ?  बाहिर निस्किएर रिक्सा खोज्न थालेँ,मेरो गन्तब्य बताउँदा सबैले अनभिज्ञता जनाउन थाले । कसैले चिनेनन् “सिद्धार्थनगर” भन्ने ठाउँ । बाटोमा हिँड्ने मानिसलाई पनि सोधेँ,कसैले चिनेनन् । निराश भएर राती होटल फर्किएँ । 
यसो फेसबुक खोलेँ ।  एउटा उपाय सुझ्यो । उसको मिल्ने साथिलाई म्यासेज गरेँ,जो मेरो फेसबुकमा एड थिई ।
उसलाई मैले सबै कुरा बताएँ,म बुटवलमा रहेको पनि उसलाई बताएँ । उसलाई एउटा सहयोग गर्न बिन्ती गरेँ । उ रश्मिताको घर रहेको ठाउँ बताउन तयार भइ । उसले त्यस ठाउँको नाम बताइ । नेपालगन्ज रोडबाट थोरै अगाडी गएर दायाँ मोडिदा जितनगर भन्ने टोल आउँछ । त्यहाँ दुइ तले रातो घर छ । उसले बताइ ।
रश्मिताले मलाई आफ्नो घरको ठेगाना पनि गलत भनेकी रहिछ ।
अर्को दिन बिहानै उठेँ । खाना खाएँ अनि लागे हिजो थाहा पाएको ठाउँ तिर । अहिले मेरो गन्तब्य जितनगर भन्ने ठाउँ थियो । हिँड्दै गएर पत्ता लगाएँ,जितनगर भन्ने टोल । 
एकैछिन खोजेँ,अली भित्र तिर पसेँ । उसको साथीले बताए जस्तै एउटा घर देखेँ,दुइतले रातो । गेट अगाडी गएँ । गेटमा लेखिएको थियो,महर्जन निवास । यो पक्कै उसैको घर हुनु पर्छ भन्ने सोँचेर गेट खोलेँ । ढोकामा पुगेर घन्टी बजाएँ । 
हेर्दा २०-२१ बर्षकी देखिने एक जना महिला ढोका खोल्न आउनु भयो ।
“कसलाई खोज्नु भएको ?” उता बाट प्रश्न सोधियो ।
“रश्मिता । रश्मिताको घर यही हो ?” मैले पनि प्रश्न गरेँ,अघिल्लो प्रश्नको उत्तर सहित ।
“घर यही हो । म उसको दिदी हो । तिमी को ?” उता बाट प्रश्न आयो ।
“म उसको साथी हो । उ कहाँ छ ?” मैले प्रश्न गरेँ ।
“उ त आज बिहानै लुम्बिनी तिर गइ । भोली मात्र फर्किन्छे ।” उहाँले भन्नुभयो ।
“ए त्यसो भए भोली आउँछु ।” मैले भनेँ ।
“उ आए पछी तिमी आएको भन्दिन्छु । तिम्रो नाम ?” उहाँले सोध्नुभयो ।
“शिशिर” मैले उत्तर दिएर बिदा माग्दै त्यहाँ बाट निस्किएँ ।
म उसैको यादमा तड्पिएर बुटवल आएको थिएँ । उ भने यत्ती छिटो रिकभर भएर घुम्न गइसकिछ । मनमा कुरा खेल्न थाल्यो ।

त्यो दिन पनि पिडामै बित्यो । अर्को दिन १० बजे तिर फेरी उसको घरतिर गएँ । जितपुर छिर्दै थिएँ रश्मितालाई देखेँ । मन खुशी हुनुको साट्टो मनमा पहिरो गयो । उ एक्लै थिइन । उ अरु कोही सँग थिइ । उ अरु कोही सँग हात समातेर हिँड्दै थिइ । आँखाले देखेको दृश्यमा मुटुले बिश्वास गरेन । एकैछिन उनिहरुकै पछी पछी गएँ । केटाको अनुहार देखेँ । अब मेरो मुटुले ठाउँ छोड्न थालिसकेको थियो । त्यो केटा मेरो लागी परिचित अनुहार थियो । रश्मिताको फोनमा उसँग धेरै नै कुरा भएको देखेर मैले एक पटक त्यसको बारे सोधेको थिएँ । रश्मिताले त्यो उसको मिल्ने साथी मात्र हो भनेकी थिइ अनि मैले बिश्वास गरेको थिएँ ।
अझै पनि मेरो मनले त्यो साथी मात्र हुन सक्छ भनिरहेको थियो तर मेरो अगाडी भैरहेका गतिबिधिले मेरो साथ दिइरहेका थिएनन् ।

उसको मुहारमा कती ठुलो अनि मिठो हाँसो थियो । लाग्थ्यो यि सबै दिनमा मेरो झरेका आँशु बराबरको हाँसो उसको अनुहारमा झल्किरहेको थियो ।
उनिहरु अलि अगाडी गएर एक अर्का सँग छुट्टिए । मेरो भने एउटा पुरानो कुरामा ध्यान गयो । उसले एक पटक त्यो केटालाई मेरो नम्बर बाट कल गरेकी थिइ । मैले पुराना सबै कल डिटेल हेर्न थालेँ । अनि त्यो नम्बर भेट्टाएँ । उसले त्यसलाई फोन गरेको दिन हामी सुन्दरिजल गएका थियौँ,हाम्रो सम्बन्धको २ महिना पुगेको अवसरमा । मलाई डेट याद थियो त्यसैले नम्बर पत्ता लगाइहालेँ । त्यो नम्बर भर्खर कतै देखे देखे जस्तो लाग्यो । अस्ती मलाई रश्मिताबाट टाढा जान भन्दै धम्की दिएको नम्बर हेरेँ । दुबै नम्बर मिले । त्यो धम्की आएको नम्बर र रश्मिताले त्यस दिन कल गरेको नम्बर एउटै रहेछन् ।

क्रमश:

अर्को भाग भोली पोस्ट गर्नेछु,पढ्न नबिर्सनु होला । सल्लाह,सुझाव र प्रतिकृया दिन पनि नभुल्नुहोला । म दिल खोलेर राम्रा,नराम्रा सबै खाले प्रतिकृया सुन्न उत्सुक छु ।
धन्यवाद ।




This post first appeared on A MINUTE TO MIDNIGHT, please read the originial post: here

Share the post

एउटा हराएको गन्तब्य (भाग:६)

×

Subscribe to A Minute To Midnight

Get updates delivered right to your inbox!

Thank you for your subscription

×